जितपुरसिमरा गोल्डकप : अफ्रिकन रुट्स एसोसियसन ,क्यामरुन फाइनलमा प्रवेश

९ बैशाख २०७८, बिहीबार ०९:१० प्रकाशित

अनिस अधिकारी
सिमरा ९ बैशाख :
सिमरा रंगशालामा जारी बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एसोसियसन , क्यामरुन विजयी भएको छ । आयोजक नव जन जागृती युवा क्लब सिमरालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । हारसंगै घरेलु दर्शकको उत्साहजनक समर्थन पाएको सिमरा उपाधि होडबाट बाहिरिएको छ।
अफ्रिकन रुट्सको जितमा नाजिमी र इबोडेले समान एक एक गोल गरे भने सिमराका लागि सकल रेग्मीले गोल गरे।
सिमराका लागि खेलको सातौ मिनेटमा सकल रेग्मीले गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए। अफ्रिकन रुट्सका इबोलेले सिमराका डोना थापालाई फल गरेपछि सिमराले डीबक्स बाहिर फ्रिकिकको अवसर पायो। डोनाले प्रहार गरेको फ्रिकिक बल अफ्रिकन रुट्सका गोलरक्षक सोल्भियोले नियन्त्रणमा लिन नसक्दा रिबाउण्ड बललाई सकलले गोलमा परिणत गरे। उनको गोल संगै खेल हेर्न पुगेका हजारौ घरेलु दर्शक उत्साहित भए।
भर्खरै सम्पन्न आहा रारा गोल्डकपको उपविजेता हुदै बारा आएको अफ्रिकन रुट्सका लागि खेलको ३० औ मिनेटमा नाजिमीले गोल गर्दै बराबरीमा ल्याए। टि एम्बेलको क्रसलाई सदुपयोग गर्दै उनले गोल गर्दा खेल थप रोमान्चक बन्न पुग्यो।
खेलको ४५ औ मिनेटमा रेफ्रीसंग अपशब्द प्रयोग गरेका आयोजकका यायो रातो कार्ड पाउदै खेलबाट बाहिरिए पछी सिमरा १० खेलाडीमा सिमित हुन पुग्यो।
तुलनात्मक रुपमा बलियो मानिएको अफ्रिकन रुट्स बिरुद्द उत्कृष्ट खेल प्रदर्शन गरेको सिमरा फिनिसिंग लाइनमा भने केहि कमजोर बन्न पुग्यो।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिए पछी खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा आक्रामक खेल खेलेको सिमराले थुप्रै अवसर पाए पनि बलले जाली चुम्न सकेन।
अफ्रिकन रुट्सले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दा आयोजक स्तब्ध बन्यो। खेलको अन्तिम मिनेटमा अफ्रिकन रुट्सले कर्नरबाट प्रहार गरेको बललाई क्लियर गर्न नसक्दा अफ्रिकन रुट्सका इबोडेले गोल गरे।
बागमती गाउपालिका बिरुद्द २ गोल र हिमालयन शेर्पा बिरुद्द १ गोल गरेका सिमराका अनुभवी लुइस भिडाल बेन्चमा हुनु र १० खेलाडीमा मात्र सिमित हुनु आयोजक सिमरालाई भारि पर्यो।
खेल को म्यान अफ दि म्याच सिमराका गोलरक्षक राहुल यादब घोषित भए । उत्कृष्ट खेल प्रदर्शन गरेका उनले पाच हजार नगद र ट्रफि प्राप्त गरे ।
चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।
आज एपिएफ फुटबल क्लब Vs संकटा क्लब
प्रतियोगिता अन्तर्गत बिहिबार हुने दोस्रो सेमिफाइनल खेल मा एपिएफ फुटबल क्लब, काठमाडौँ र संकटा क्लब , काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ। एपिएफ फुटबल क्लब, काठमाडौँले क्वाटरफाइनलमा बाग्मती युवा क्लब , सर्लाहीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको थियो भने संकटा क्लबले विजय युथ क्लब, हेटौडालाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको थियो। सेमीफाइनल खेल बेलुका ५ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ । संकटा क्लब प्रतियोगिताको आठौ संस्करणको बिजेता हो भने एपिएफ फुटबल क्लब भर्खरै सम्पन्न बिराट गोल्डकपको बिजेता हो । खेलको टिकट दर रु. १०० कायम गरिएको आयोजकले जनाएको छ । बढ्दो कोरोना भाइरसको जोखिमका कारण आयोजकले खेल हेर्न जाने दर्शक तथा आमन्त्रित अतिथिलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। आयोजकले बिभिन्न संस्थाको सहकार्यमा दर्शकका लागि नि:शुल्क मास्कको व्यवस्था गरेको छ ।

९ बैशाख २०७८, बिहीबार ०९:१०  मा प्रकाशित

Write your Comment