ओलीको वक्तव्य पार्टी एकताको विपक्षमा रहेको खनाल-नेपाल समूहको निष्कर्ष

२४ जेष्ठ २०७८, सोमबार १५:४८ प्रकाशित

एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको छ ।
सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले यस्तो ठहर गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन’, नेता ज्ञवालीले भने, ‘संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन ।
नेता ज्ञवालीले स्थायी समितिका सदस्यहरुको बीचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए । ‘प्रेस स्टेटमेन्ट तयार हुदैछ बरिष्ठ नेताले जारी गर्नुहुन्छ । त्यसमा धेरै कुरा आउँछन्,’ नेता ज्ञवालीले भने ।
त्यस्तै खनाल नेपाल समुहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गर्नुभएको छ, । यसलाई हामीले गम्भीर रुपमा लिएका छौ ’नेता ज्ञवालीको भनाइ छ ।

२४ जेष्ठ २०७८, सोमबार १५:४८  मा प्रकाशित

Write your Comment