युरो कपमा इटालीको विजयी सुरूवात,आज एकैदिन तिन खेल

२९ जेष्ठ २०७८, शनिबार १०:४१ प्रकाशित

काठमाडौं २९ जेष्ठ :
इटलीले युरोकप २०२० मा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पारेको छ । घरेलु मैदान रोमस्थित ओलम्पिया स्टेडियममा भएको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको हो ।
एक पटकको च्याम्पियन इटलीले युरोकपमा एकै खेलमा दुई भन्दा बढी गोल गरेको यो पहिलो हो ।
पहिलो हाफ गोलरहित बराबरी भए पनि इटलीले सबै गोल दोस्रो हाफमा गरेको थियो । सिरो इम्मोबाइल र लरेन्जो इनसिग्नेले इटलीका लागि गोल गरे । अर्को गोल भने उपहार पाएको थियो ।
युरोकप २०२० को पहिलो गोल भने आत्मघाती रह्यो । खेलको ५३औं मिनेटमा मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि इटलीले अग्रता बनायो । ६६औ मिनेटमा इम्मोबाइलले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । यस्तै इनसिग्नेले ७९औं मिनेटमा गोल गरे ।
यसअघि इटली र टर्कीबीच २००० मा भएको खेल इटलीले जितेको थियो । समूह ए अन्तर्गत खेलमा जितपछि इटलीले ३ अंक जोडेको छ ।
यस्तै इटलीले अपराजित यात्रालाई २८ खेलसम्म पुर्‍याएको छ । सन् २०१८ सेप्टेम्बरयता पोर्चुगलसँग हारेयता इटली पराजित भएको छैन । यसक्रममा इटली २३ खेल जित्दा ५ बराबरी खेलेको छ । यस्तै वर्ष २०२१ मा इटलीले अहिलेसम्म गोल व्यहोरेको छैन ।
इटलीले पछिल्लो ९ खेल जित्दा कुनै गोल व्यहोरेको छैन ।
पहिलो पटक ११ देशमा आयोजना भएको युरोकपमा इटलीले समूका बाँकी दुई खेल पनि घरेलु मैदानमै खेल्नेछ ।
आजै तीन खेल
युरोकप अन्तर्गत आज तीन खेल हुँदैछ । जसमा समूह ‘ए’ का वेल्स र स्वीट्जरल्याण्ड, समूह ‘बी’ मा रहेका डेनमार्क र फिनल्याण्ड तथा टर्की र इटलीबीच खेल हुँदैछ ।
वेल्स र स्वीट्जरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे बाकु ओलम्पिक स्टेडियममा सुरु हुनेछ । यस्तै डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे तथा टर्की र इटली बीचको खेल  राति १२:४५ बजे रोममा सम्पन्न भएको थियो जसमा इटलीले ३-०ले जित हासिल गरेको छ । डेनमार्कले घरेलु मैदान कोपनहेगनमा खेल्नेछ भने बेल्जियम र रसियाबीचको खेल सेन्ट पिटर्सवर्गमा हुनेछ । जीतका साथ ३ अंकले ग्रुप ए को शिखरमा पुगेको छ ।

२९ जेष्ठ २०७८, शनिबार १०:४१  मा प्रकाशित

Write your Comment