निती तथा कार्यक्रम पारित र स्पष्टीकरण फिर्ता सँगै बागमतीमा एमाले एकढिक्का

३० जेष्ठ २०७८, आईतवार ०८:४४ प्रकाशित

काठमाडौं ३० जेष्ठ :

झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।

जबकी साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा बरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरेका थिए । शाक्यलाई वैकल्पिक मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।
२३ फागुनमा साबिकको नेकपा भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अविश्वासको प्रस्ताव फिर्ता भयो । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल समूहका सांसदहरू एक थिएनन् । ६ जेठको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाल समूह समेत भएको विपक्षी गठबन्धनका उम्मेद्वार डा. खिमलाल देवकोटासँग एमाले उम्मेद्वार रामबहादुर थापा पराजित भएका थिए ।
सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेद्वार बादललाई मत नगरिएको भन्दै ओली पक्षले ९ जेठ नेपाल समूहमा आवद्ध १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको थियो । त्यसबेला अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्ण खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाल सहित १४ जनालाई स्पष्टीकरण सोधिएको थियो ।

तर त्यो स्पष्टीकरण फिर्ता लिइएको छ । ‘स्पष्टीकरण सोध्नु जरुरी नभएको भन्दै सोधिएकोमा माफी मागिएको पत्र शनिबार बिहान मात्रै १४ जनालाई दिइएको छ । ‘स्पष्टीकरण फिर्ता भएपछि नीति तथा कार्यक्रम ल्याउन एमाले एकैठाउँ उभिएको छ । यो पार्टी नेतृत्वलाई सन्देश पनि हो’, नेपाल निकट सांसद हुनु सिग्देलको भनाई छ । सर्वोच्च अदालतले दुई पटक दिएको फैसला अनुसार २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व मान्न तयार नभएका अध्यक्ष ओलीलाई बागमतीबाट सन्देश दिइएको सिग्देल बताउनु हुन्छ ।

ओली पक्षका नेता बागमती सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री सरेश नेपाल पनि एकताको सन्देश दिइएको बताउँनु हुन्छ । ‘वारपारको अवस्थामा भइरहेका बेला एउटै ठाउँमा रहनु राम्रै सन्देश जाने नै भयो’, मन्त्री नेपालको भनाई छ ।
तर ‘सबै विवाद मिल्यो र एमाले एकै भइसक्यो भन्नु’ हतार हुने एक नेता बताउँछन् । उनका तर्कअनुसार अझैपनि दुई पक्षबीच बलियो समझदारी बनिसकेको छैन, नेतृत्वले बनाउनुपर्छ ।

३० जेष्ठ २०७८, आईतवार ०८:४४  मा प्रकाशित

Write your Comment