बहुमतले पारीत भयो : प्रदेश २ सरकारको नीति तथा कार्यक्रम

३० जेष्ठ २०७८, आईतवार २०:४३ प्रकाशित

प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारीत भएको छ । जेठ २७ मा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा साँसद शिवचन्द्र चौधरी, सुन्दर बहादुर विश्वकर्मा, दिलिप साह र सिता गुरुङले संशोधन प्रस्ताव दर्ता गराएका थिए। दुई दिनसम्म चलेको छलफलको अन्त्यमा आज मुख्यमन्त्री लालबाबु राउतले सदनमा उठेको सवालको सम्बोधन गरे ।
मुख्यमन्त्रीको आश्वासनपछि साँसद विश्वकर्मा, गुरुङ र चौधरीले संशोधन प्रस्ताव फिर्ता लिए । तर साँसद साहले संशोधन प्रस्ताव लिएनन् । उनको संशोधन प्रस्ताव सभामुख सरोज कुमार यादवले ध्वनी मतको आधारमा अस्वीकृत गरे । त्यसपछि सभामुख यादवले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।
मुख्यमन्त्री राउतले कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुटिसकेको, संसद विकास कोष खारेज नगर्ने, पर्सा राष्ट्रिय निकुञ्जलाई चितवन राष्ट्रिय निकुञ्ज जस्तै व्यवस्थापन मिलाएर पर्यटक भित्र्याउने, सरकारी अस्पतालका डाक्टरको तलब बढाएर लगाम कस्ने जस्ता प्रतिवद्धता जनाएका छन् ।

३० जेष्ठ २०७८, आईतवार २०:४३  मा प्रकाशित

Write your Comment