काठमाडौं १२आषाढ :
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरे पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्।
शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओलीले कोर्ष नै करेक्सन नगरी मिल्ने संभावना नरहेको बताए।
‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन,आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाइँ भइहाल्नुस् भन्ने कुरा पनि आएको छ’, उनले भने, माधव नेपाल धोका दिने मान्छे होइन। ’
आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको उनको भनाई थियो । ‘गठबन्धनको तर्फबाट जुन प्रक्रिया अघि बढिसकेको छ, त्यसमा धोका दिने पक्षमा म छैन, उनले भने, अदालतबाट हस्ताक्षर फिर्ता लिने कुरा पनि संभव छैन।’
उनले आफूहरु संविधान र लोकतन्त्र जोगाउनका लागि एमालेको विद्रोही पक्ष भएको बताए।
नेता नेपालले केपी ओलीको तानाशाही कदमविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताए। संविधानको धारा ७६ (५) मा पुगेर ओलीको तानाशाही कदम परास्त गर्न विद्रोही एमाले बनेको उनको भनाइ छ। उनले केपी ओलीलाई लोकतान्त्रिक प्रक्रियाको तानाशाह बनेको आरोप लगाए।
‘संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं’, नेता नेपालले भने, ‘यो एमालेभित्रको विद्रोही आवाज हो। लोकतान्त्रिक प्रक्रियाबाट तानाशाही जन्मिने रहेछ।’
‘केपी ओलीलाई सत्ता भएपछि त्यसभन्दा बाहेक अरु केही चाहिँदैन । नेता नेपालले भने, ‘त्यसैले उहाँ भन्नुहुन्छ, कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु। नरहे बाँस, नबजे बाँसुरी। त्यसैले उहाँले संसद् नै विघटन गर्नुभयो।