तनहुँ १७ आषाढ :
तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए ।
सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।
पहिरोका कारण चार घर जोखिममा रहेको छ। पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।
पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका छन्। अहिले जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले बताइन् ।