पाल्पाको तिनाउ गाउँपालिकामा पहिरोले एक्स्काभेटर र ट्याक्टर पुरिदा एकको मृत्यु, एक घाइते

२ श्रावण २०७८, शनिबार ११:३४ प्रकाशित

पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम झ्याङ्लामा दुइटा एक्स्काभेटर र एउटा ट्याक्टर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पहिरोमा पुरिएर बर्दियाको अस्मेरी गाउँपालिका–३, घरभई तानसेन नगरपालिका–८, डुम्रेमा अस्थायी बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुनको मृत्यु भएको छ । पुन लु ४ त ६६२९ नम्बरको ट्याक्टरका सहयोगी हुन् । लु १ क २४९६ नम्बरको एक्स्काभेटर चालक रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका सरोज बुढा घाइते भएका छन् ।
गम्भीर घाइते भएका पुन र बुढालाई लुम्बिनी मेडिकल कलेज लगिएकामा बिहान ३ बजे पुनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा कच्ची सडकमा हिलोमा फसेको ट्याक्टर निकाल्न गएका दुइटा एक्स्काभेटरसमेत पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट कच्चीसडक होलीघाटतर्फ ढुंगा लोड गरी गएको लु ४ त ६६२९ नम्बरको ट्याक्टर पहिरो खसेको हिलोमा फसेको थियो । सोही ट्याक्टर निकाल्न लु १ क २४९६ र लु १ क २४९७ नम्बरको एक्स्काभेटर गएका थिए । प्रहरी चौकी प्रभासका अनुसार तीनवटै सवारी साधन पहिरोमा पुरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२ श्रावण २०७८, शनिबार ११:३४  मा प्रकाशित

Write your Comment