सत्ता गठबन्धनको बैठक आज बस्दै

२७ भाद्र २०७८, आईतवार ०९:४१ प्रकाशित

सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न पाँच दलिय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ-आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरुको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने सत्ता गठबन्धनका एक नेताले जानकारी दिए ।

२७ भाद्र २०७८, आईतवार ०९:४१  मा प्रकाशित

Write your Comment