सल्यानमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो,१० जनाको सनाखत

२१ कार्तिक २०७८, आईतवार २०:०९ प्रकाशित

सल्यानमा आज दिउँसो भएको यात्रु बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
सल्यानको खलंगाबाट दाङको तुलसीपुर तर्फ गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका-५ थारखोलामा दुर्घटना भएको थियो।
सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ५ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा भएका घाइतेको उद्धार गरेर उपचारका लागि अस्तपाल लैजाँदै गर्दा अन्य सात जनाले ज्यान गुमाएका छन्। यससँगै मृतकको संख्या १२ पुगेको हो।
कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरेका छन्। दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत भइसकेको छ।

दुर्घटनामा हुने सल्यानको शारदा नगरपालिका-१२ घर घई तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षीया प्रभा चलाउने,दाङको बबई गाउँपालिका-४ की ६० वर्षीया डुली रेउले, बबई-६ पञ्कुलेकी ७० वर्षीया कलावति बुढाथोकी र घोराही उपमहानगरपालिका-१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको ज्यान गएको छ।

त्यसैगरी दाङको शान्तिनगर गाउँपालिका-८ निवासी ३५ वर्षीया सावित्रा केसी र शान्तिनगर-६ कोरबाङ निवासी ५ वर्षीय सुरज वलीको सनाखत भएको छ।

सल्यान प्रहरीका अनुसार ज्यान गुमाउने अन्यमा सल्यानको शारदा नगरपालिका-२ की ६१ वर्षीया मीना डाँगी, शारदा नगरपालिका-३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका-१ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक वली छन्।

दुर्घटनाका घाइतेहरूलाई उपचार गर्न काठमाडौं लगिने प्रहरीले जनाएको छ। उक्त बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। दुर्घटनापछि बस चालक फरार रहेका छन्।

२१ कार्तिक २०७८, आईतवार २०:०९  मा प्रकाशित

Write your Comment