एमाले १० औ महाधिवेशन निर्वाचन : २११४ जना मतदानमा सहभागी

१४ मंसिर २०७८, मंगलवार १२:१२ प्रकाशित

चितवन १४ मंसिर :
नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । नेतृत्व चयनका लागि भएको मतदानमा २११४ जना प्रतिनिधिले मतदान गरेका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार २१५३ मतदातामध्ये २११४ जनाले मतदान गरेका हुन् ।
मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब ३ घण्टामा पूर्ण नतिजा आइसक्ने जनाइएको छ ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको हो । त्यस्तै, विभिन्न क्लस्टर र खुलाको केन्द्रीय सदस्यमा मतदान भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए ।
त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव भएको छ ।

खुला सदस्य ८४ जनाका लागि ८५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन भएको हो । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन भएको छ । दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन भएको छ ।

१४ मंसिर २०७८, मंगलवार १२:१२  मा प्रकाशित

Write your Comment