समाजवादीका मकवानपुर उपाध्यक्ष राईसहित आधा दर्जन एमालेमा फर्किए

६ असार २०८०, बुधबार २०:१८ प्रकाशित

नेकपा एकीकृत (समाजवादी) का मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राईसहित आधा दर्जन जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् ।

आज नेकपा एमाले, जिल्ला कार्यालयमा भएको एक कार्यक्रमबीच उनीहरू पुरानो घर एमालेमा पार्टी सदस्य नवीकरण गर्दै फर्किएका हुन् । एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भोम्जन, लोकनाथ चौलागाई, रोमनाथ रेग्मी, अर्जुन पोखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन(राजेश) रहेको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।

कार्यक्रममा नेता राईले कम्युनिष्ट आन्दोलनमा एमालेको विभाजन कल्पना नगरेको कुरा भएको र एकीकृत समाजवादीको न भूत न भविष्य भएको पार्टी बताए । उनले कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एमाले भएकोले सबै चुनौतीको सामना गरेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने जिम्मा पनि एमालेको भएको बताए ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य पुरूषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर राना, पार्टी नेता केदार न्यौपानेसहितका नेताहरूले उनीहरूलाई स्वागत गरेका छन् ।

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पौडेल, प्रदेश कमिटीका सदस्यहरू बलराम बल, श्रीधर पोखरेल, कमल बिष्ट, देवराज रिमाल, अर्जुन अर्याल, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला उपसचिव सीता विष्ट, जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव राजन थापा, ईन्द्र सरोवर गाउँपालिका निर्वाचित अध्यक्ष डिके पुडासैनीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

६ असार २०८०, बुधबार २०:१८  मा प्रकाशित

Write your Comment