एमालेले मध्यपहाडी राजमार्गको झुलाघाटदेखि चिवा भन्ज्याङसम्म जनसंवाद अभियान चलाउने

२०८० भाद्र १३, बुधबार प्रकाशित

नेकपा एमालेले जनतासँग पार्टीलाई जोड्ने दोस्रो अभियान अन्तर्गत मध्यपहाडी राजमार्ग केन्द्रित वृहत पदयात्रा तथा जनसंवाद गर्ने भएको छ ।

सिरहाको सर्रे अम्बासमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म अभियान सञ्चालन गर्ने भएको हो ।

यो अभियान आगामी मंसिरमा सञ्चालन हुने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । यसअघि २०७४ मा सन्चालित महेन्द्र राजमार्ग केन्द्रित मेची महाकाली अभियानजस्तै यसपटक मध्यपहाडी राजमार्गमा जनस्तरको कार्यक्रम गर्न लागिएको ज्ञवालीले बताउनु भयो ।

बैठकले पार्टीको हिरक महोत्सव तथा शहीद स्मारक ऐतिहासिक चौथो महाधिवेशनस्थल सर्रे अम्बासमै निर्माण गर्ने निर्णय गरेको ज्ञवालीले बताउनु भयो । स्मारकको बुधवारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ ।

Write your Comment