करिब एक महिनादेखि आन्दोलनमा रहेका शिक्षक र सरकारबीच सिंहदरबारमा ‘निर्णायक वार्ता’ शुरू भएको छ ।
नेपाल शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता शुरू भएको हो ।
मन्त्री पन्त दिनभर शिक्षकहरूलाई कुरेर मन्त्रालयमा बसे पनि महासंघका प्रतिनिधिहरू भने केहीबेर अघि मात्र सिंहदरबार छिरेका हुन् ।
शिक्षा मन्त्रालय र शिक्षकहरूबीच सोमबार राति अबेरसम्म पनि वार्ता भएको थियो । वार्ता सकारात्मक भएको र आज निष्कर्षमा पुगिने दुवै पक्षले प्रतिक्रिया दिएका थिए ।
मंगलबारको वार्तामा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित चार जना छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान, पठनपाठन, कक्षा १२ को वार्षिक परीक्षा लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।