पुर्वी चितवनमा कर्फ्यु ,सुजिताको मृत्यु चोटपटकका कारण भएको होइन- डा.चौधरी

२०७८ अषाढ २२, मंगलबार प्रकाशित

सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो । केहि घण्टादेखि भण्डारीको गृहनगर अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

कर्फ्यु आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मका लागि जारी गरिएको हो।

मृत्युको कारण चोटपटक  होइन -डा.गोपाल चौधरीले

सुजिता भण्डारीको मृत्यु चोटपटकबाट नभएको पोष्टमार्टम रिपोर्ट आएको छ।

भण्डारीको मृत्यु चोटपटकका कारण नभएको शवको पोष्टमार्टम गरेका डा. गोपाल चौधरीले बताए। भण्डारीको शवको पोष्टमार्टम काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।

मृत्युको कारण चोटपटकबाट नभएको देखिएपछि अन्य कारण थाहा पाउन शवको भिसेरा परीक्षण गरिने छ ।

भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको शवको पोष्टमार्टम गरेका डा. चौधरीले बताए । असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी भण्डारीको शव असार २० गते स्थानीय जंगलमा फेला परेको थियो।

Write your Comment