पूर्वी चीनमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको मृत्यु, पाँच घाइते

३० असार २०७८, बुधबार १३:०५ प्रकाशित

चीनको पूर्वी सहर सुजूमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उक्त दुर्घटना भएको ३६ घण्टासम्म खोजतलास गर्दा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएर रहेका २३ जनालाई फेला पारेका थिए। तीमध्ये छ जना जीवितै छन्।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार उक्त भवनका मालिकले भवनको संरचनामा नै फेरबदल गर्ने प्रयास गरेकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हालैका वर्षहरूमा उक्त भवनमा पटकपटक मर्मतका कामहरू भएको बुझिएको छ।
रेडस्टार न्यूजसँग कुरा गर्दै उक्त भवनमा बसोबास गर्दै आएका एक व्यक्तिले भने, “यो भवन सुरुमा तीनतलै मात्रै थियो तर तिनीहरूले विस्तारै यसमा तला थप्दै गए।”

जियाङ्गशु प्रान्तीय सरकारले उक्त दुर्घटनाबारे एक टोलीले छानबिन गरिरहेको र घटनासँग “सम्बन्धित व्यक्तिहरूले” फौजदारी अभियोगको सामना गर्नुपर्ने बताएको छ।

सोमवार स्थानीय समयानुसार दिउँसो ३:३० बजेतिर उक्त सिजी काइयुआन होटल भत्किएको थियो। त्यसपछि उद्धारकार्यमा ६०० जनाभन्दा बढी उद्धारकर्मी खटिएका थिए ।

३० असार २०७८, बुधबार १३:०५  मा प्रकाशित

Write your Comment