बङ्गलादेशमा विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

२१ श्रावण २०७८, बिहीबार १५:२५ प्रकाशित

बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।
उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भइनसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
हाल केही दिनयता भीषण मनसूनी आँधीवेहरीसहितको वर्षाले बंगलादेशलाई प्रभावित पारेको छ । कोक्सबजारको दक्षिणपूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ ।
दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ । बङ्गलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो । सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो । त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।

२१ श्रावण २०७८, बिहीबार १५:२५  मा प्रकाशित

Write your Comment