नेप्से घटेपनी युनियनसहित ४ कम्पनीको मूल्यमा १० प्रतिशतले वृद्धि, विकास बैंकमा आकर्षण

२१ श्रावण २०७८, बिहीबार १५:४८ प्रकाशित

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंकले घटेको छ। १५. ९८ अंकले घटेर बजार ३ हजार १०७ अंकमा कायम भएको छ।

यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।

जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन्। जीवन विकासको मूल्य प्रतिकित्ता १ हजार ५०६ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ४८२ रुपैयाँ पुगेको छ।

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ भने जानाकी फाइनान्सको मूल्य ५.८ प्रतिशतले बढ्यो।

यस दिन युनिभर्सल पावरको मूल्य ६.७ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ५ प्रतिशतले घटेकोछ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य सामान्य बढ्यो। अपि पावरको ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अरुणभ्यालीको ४९ करोडको किनबेच भयो।

समूहगत रुपमा हेर्दा यस दिन विकास बैंक समूहमा ठूलो वृद्धि देखिएको छ। समग्र नेप्से घट्दा सो समूह ११० अंकले बढेको छ। अरु सबै समूह घटेका छन्।

बैंकिङ १ अंकमुनि रातो रह्यो। फाइनान्स २६, होटल तथा पर्यटन ४९, जलविद्युत ७६, जीवन बीमा ५९, उत्पादन ६८, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ५६, अन्य १६ र ब्यापार समूह ४४ अंकले घटे।

२१ श्रावण २०७८, बिहीबार १५:४८  मा प्रकाशित

Write your Comment